ललितपुर । लगातार भइरहेको वर्षा तथा मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार आज बिहान ५ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सबै प्रकारका सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
कान्ति लोकपथका अधिकांश सडक खण्ड जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी आवागमन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिइन्।
जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको नियमित पालना गर्न समेत अनुरोध गरेको छ।
विपद् वा आपत्कालीन अवस्था सिर्जना भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, ललितपुरको निःशुल्क नम्बर १२३४, सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा स्थानीय प्रशासनमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।