काठमाडौं । विभिन्न राजनीतिक दलसँग आबद्ध सुकुम्बासीसम्बन्धी संघ–संगठनहरूले सुकुम्बासीलाई तत्काल लालपुर्जा उपलब्ध नगराए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आबद्ध अखिल नेपाल सुकुम्बासी संघलगायतका संघ–संगठनले सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा ढाँट्ने र छल्ने काम गरिरहेको आरोप लगाए ।
अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले सुकुम्बासीका लागि तत्काल लालपुर्जा वितरण नगरे सरकारविरुद्ध सशक्त संघर्षमा उत्रिन बाध्य हुने बताए । उनले सरकारले विधि र प्रक्रियाअनुसार लालपुर्जा वितरण गरे आन्दोलन गर्नुपर्ने अवस्था नआउने उल्लेख गर्दै त्यसो नभए कडा संघर्ष गर्ने चेतावनी दिए ।
उनले भने, ‘अखिल नेपाल सुकुम्बासी संघले चाहन्छ–हामीले संघर्ष गर्न नपरोस् । तपाईंहरूले लालपुर्जा दिनुहोस् । विधिमा दिनुहोस्, पद्धतिमा दिनुहोस् । हामीलाई संघर्ष गर्न नपरोस् । त्यो होइन लपनछप्पन गर्नेतिर जानुभयो भने हामी संघर्ष गर्नेछौँ । र यो ७० लाखभन्दा धेरै सुकुम्बासीहरूको संघर्ष, हजारौँ किसानहरूको संघर्ष, दलितहरूको संघर्ष, उत्पीडनमा परेका जाति, वर्ग र समुदायको संघर्षले तपाईँ र तपाईँजस्ता शासकहरूको अन्त्य गर्नेछ ।’
पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरिब सुकुम्बासी नागरिकलाई पीडा दिने सीमा नाघेको आरोप लगाए । उनले जनतालाई ढाँटेर शासन सञ्चालन नगर्न सरकारलाई सचेतसमेत गराए ।
परिश्रमीले भने, ‘हामी गरिबलाई त तिमीले सुकुम्बासी, भूमिहीन, दलित सुकुम्बासी, अव्यवस्थित बसोबासीका लागि बनेको ऐन, कानुन त सरकारले लत्यायो, लत्यायो । अब देश र जनतालाई नै राष्ट्रियतासम्बन्धी खतरामा पार्नका लागि यदि उन्मुख छ भने खबरदार सरकार, यो देश तिम्रो मात्रै होइन। यो देश हाम्रो पनि हो । पञ्चायतकाल, राणाकालमा लड्ने जनताको पनि हो । गणतन्त्रका लागि लड्ने जनताको पनि हो । समग्र नेपाली जनताको हो । यो कालकोठरीबाट जनतालाई ढाँटेर डोजर लगायौँ, शासन चलायो । अब नचलाउ । अब अति भयो ।’
उनले सरकार मुलुकको राष्ट्रियतालाई नै खतरामा पार्ने षड्यन्त्रमा लागेको आरोपसमेत लगाए ।