म्याड्रिड । स्पेनको दक्षिणी अन्डालुसिया क्षेत्रमा बिहीबार दिउँसो सुरु भएको भीषण डढेलोमा परी ११ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता रहेका छन् । क्षेत्रीय अधिकारीहरूले शुक्रबार घटनाको पुष्टि गरेका हुन् ।
अन्डालुसियाका क्षेत्रीय सरकारका अध्यक्ष जुआन्मा मोरेनोका अनुसार मृतकको संख्या १२ पुग्न सक्ने आशंका गरिएको छ । डढेलो प्रभावित क्षेत्रमा अर्को एक शव फेला परे पनि त्यसको औपचारिक सनाखत हुन बाँकी रहेको उनले बताए ।
अन्डालुसियाका स्वास्थ्य तथा आपत्कालीन मामिलामन्त्री एन्टोनियो सान्जले लस गालार्डोस क्षेत्रमा लागेको डढेलोलाई अन्डालुसियाको इतिहासकै सबैभन्दा भयावह र अभूतपूर्व विपत्तिमध्ये एक भएको बताएका छन् ।
मृतकहरूमा बेलायत, बेल्जियम र स्पेनका नागरिक रहेको आशंका गरिए पनि उनीहरूको राष्ट्रियता र पहिचानको आधिकारिक पुष्टि हुन बाँकी छ ।
डढेलोमा परी अन्य आठ जना घाइते भएका छन् । तीमध्ये चार जना गम्भीर रूपमा जलेका कारण अस्पतालमा उपचार भइरहेको छ ।
अन्डालुसिया ११२ आपत्कालीन सेवाका अनुसार स्थानीय समयअनुसार बिहीबार अपराह्न ५ बजेतिर डढेलो सुरु भएको थियो । उच्च तापक्रम, न्यून आर्द्रता र तीव्र हावाहुरीका कारण आगो तीव्र रूपमा फैलिँदै छिमेकी बेदार नगरपालिकासम्म पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानले खसेको विद्युतीय तारबाट निस्किएको झिल्कोले नजिकैको वनस्पतिमा आगो सल्किएपछि डढेलो सुरु भएको संकेत गरेको छ ।
अधिकारीहरूले डढेलो नियन्त्रणका लागि ‘अन्डालुसियन वन डढेलो आपत्कालीन योजना’ सक्रिय पारेका छन् । सुरक्षाका दृष्टिले बेदार र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक हजार जनालाई अस्थायी शिविरमा राखिएको छ ।
यसैबीच, ए–७ फ्री–वे र एन–३४०ए सडकका केही खण्ड अस्थायी रूपमा बन्द गरिएका छन् ।
स्पेनका राजा फिलिप छैटौँ, रानी लेटिजिया र प्रधानमन्त्री पेड्रो सान्चेजले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री सान्चेजले डढेलो नियन्त्रणका लागि सैन्य आपत्कालीन इकाइसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।