पेरिस । फ्रान्समा जारी अत्यधिक गर्मी तथा तातो हावा (हिटवेभ) का कारण पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयले आफ्नो दैनिक सञ्चालन समय अस्थायी रूपमा घटाएको छ ।
सङ्ग्रहालय प्रशासनले शुक्रबारदेखि आगामी सोमबारसम्म सङ्ग्रहालयलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै बन्द गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको जानकारीअनुसार जुलाई १० देखि १३ सम्म लुभ्र सङ्ग्रहालय नियमित साँझ ६ बजेको सट्टा अपराह्न ४ बजे नै बन्द हुनेछ । लुभ्रसँग आबद्ध युजेन डेलाक्रोआ राष्ट्रिय सङ्ग्रहालयले पनि यही समयतालिका लागू गर्ने जनाएको छ ।
फ्रान्सेली मौसम विभाग ‘मेतियो–फ्रान्स’ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनाको अन्त्यमा देखिएको असामान्य गर्मीपछि पुनः देशभर तापक्रम तीव्र रूपमा बढ्न थालेको छ ।
तापक्रममा आएको वृद्धिसँगै मौसम विभागले फ्रान्सका ९ विभागमा उच्च सतर्कतास्वरूप ‘रेड अलर्ट’ र अन्य ७६ विभागमा ‘अरेन्ज अलर्ट’ जारी गरेको छ ।
यसअघि पनि जुन महिनाको अन्त्यतिर चलेको तातो हावाका कारण लुभ्र सङ्ग्रहालयले जुन २४ देखि २७ सम्म सञ्चालन समय घटाएको थियो । उक्त अवधिमा पनि सङ्ग्रहालय नियमित समयभन्दा अगावै, अपराह्न ४ बजे बन्द गरिएको थियो ।