हेटौंडाबाट काठमाडाैं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग २ महिना बन्द हुने भएको छ ।
हेटौंडा—भीमफेदी—कुलेखानी, फाखेल, सिस्नेरी—दक्षिणकाली फर्पिङ सडकको भीमफेदी—कुलेखानी सडक खण्डमा ढलान र कालोपत्रे गर्न लागेकाले माघ १० गतेदेखि चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा रोग लगाएको हो ।
यातायात पूर्वाधार निर्देशनालय वाग्मती प्रदेश हेटौँडाअन्तर्गत सो आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेकका सबै सवारी साधन आवतजावतको रोक लगाउने निर्णय भएको हो ।
तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला (यातायात पूर्वाधार निर्देशनालय) सुरक्षा निकाय, निर्माण व्यवसायी, पत्रकार महासङ्घका प्रतिनिधिबीच भएको छलफलपश्चात् सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । वाग्मती प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्मको १५ किलोमिटर सडक स्तरोन्नति कार्य भइरहेको छ ।
कूल ३५ करोडको लगानीमा आगामी विसं २०७८ असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेवबहादुर भण्डारीले जानकारी दिए । सो निमार्णाधीन आयोजना क्षेत्रमा अन्य सवारी साधन आवतजावत रोक लगाई सवारी साधन आवतजावतका लागि अन्य वैकल्पिक रुट प्रयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।