पाकिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको शेरानी जिल्लामा शुक्रवार एउटा यात्रुवाहक बस गहिरो खोँचमा खस्दा ४० जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बलुचिस्तानका मुख्यमन्त्रीका राजनीतिक तथा सञ्चार मामिला सहायक शाहिद रिन्दकाअनुसार, घाइतेहरूलाई अस्पताल लैजाने क्रममा र उपचारका क्रममा थप व्यक्तिको मृत्यु भएपछि मृतकको संख्या ४० पुगेको हो । जिल्लाका डेपुटी कमिश्नर हजरत वाली काकडकाअनुसार यो दुर्घटना बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सीमा नजिक शेरानी जिल्लाको ’धना सार’ क्षेत्रस्थित जोब–शेरानी राजमार्गमा भएको हो ।
दुर्घटना लगत्तै दुवै जिल्लाबाट खटिएका प्रहरी र उद्धार टोलीले मृतकका शव र घाइतेहरूलाई नजिकैका अस्पतालमा पुर्याएका थिए । मृतक तथा घाइते हुनेहरूमा महिला र बालबालिकासमेत रहेका छन् । कठिन पहाडी भूबनौटका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न दुई घण्टाभन्दा बढी समय लागेको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बलुचिस्तानको राजधानी क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावरतर्फ जाँदै गरेको बसले पहाडी सडकको मोडमा सन्तुलन गुमाउँदा उक्त दुर्घटना भएको हो । डेपुटी कमिश्नरका अनुसार ३६ जना यात्रु लिएर क्वेटाबाट छुटेको सो बसले बाटोमा थप यात्रुहरू पनि चढाएको थियो ।
बलुचिस्तान प्रान्तीय सरकारले यस दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यसैगरी, पाकिस्तानी राष्ट्रपति आसिफ जरदारीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूलाई उपलब्ध गराउन सकिने उत्कृष्ट चिकित्सा सेवा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। राष्ट्रपति जरदारीले यस कठिन घडीमा सम्पूर्ण राष्ट्र पीडित परिवारहरूको साथमा रहेको समेत बताएका छन् ।