काठमाडौँ । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगार गर्दै आएका दृष्टिविहीनहरूले आफ्ना विभिन्न माग राख्दै १२औँ दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर उनीहरूले प्रदर्शन गरेका हुन्। आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरू विगत १२ दिनदेखि निरन्तर आन्दोलनमा छन्।
प्रदर्शनकारीहरूले सरकारले सडक पेटीमा गर्दै आएको आफ्नो स्वरोजगार तथा सडक संगीतजस्ता पेशामा अवरोध सिर्जना गरेको गुनासो गरेका छन्। उनीहरूले दृष्टिविहीनहरूको सम्मानजनक व्यवस्थापन गर्न, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउन तथा त्यस्तो व्यवस्था सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार र सडक संगीतजस्ता पेशा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्।
यसैगरी, सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरूको अर्को प्रमुख माग छ। आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि प्रदर्शनकारीहरूले दिएका छन्।