जनकपुरधाम । मधेस प्रदेश सभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।
विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको उनले बताए ।
मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि रु. ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु. ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।