पूर्व पाख्रीबास कृषि केन्द्र मञ्च (एक्सप्याक फोरम) को १६औँ साधारणसभाले आउँदो तीन वर्षका लागि विपुला घिमिरेका अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
कार्यसमितिका उपाध्यक्षमा पूर्णबहादुर चेम्जोङ, सचिवमा तोया गौतम, कोषाध्यक्षमा शारदा न्यौपाने, सहसचिवमा लक्ष्मी उदास कार्की तथा कार्यकारिणी सदस्यमा ब्रह्मध्वज गुरुङ, शिरोमणि पोख्रेल, सुजिता खतिवडा र मीना राई चयन भएका छन् । यसैगरी निवर्तमान अध्यक्ष निर्मला लामा मोक्तानलाई पदेन सल्लाहकार सदस्यका रूपमा मनोनयन गरिएको मञ्चले जनाएको छ ।
साधारणसभाले अघिल्लो वर्ष सम्पन्न भएका मञ्चका क्रियाकलाप तथा उपलब्धिको समीक्षा गर्दै वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरेको एव्ं चालु आवका लागि प्रस्तावित कार्यक्रम तथा बजेटमाथि पनि छलफल गरेको थियो । मञ्चमा हाल करिब ७० सदस्य छन् ।
धनकुटास्थित नेपालकै प्रख्यात कृषि अनुसन्धान केन्द्र ‘पाख्रीबास कषि केन्द्र’मा सन् १९७२ देखि १९९८ सम्म कार्यरत रही त्यहाँबाट अवकाश प्राप्त कृषि, पशु, वन, तालिम, सूचना प्रविधि, सामाजिक तथा आर्थिक विकासजस्ता विविध विषयका विशेषज्ञ कर्मचारीका पहलमा २०६१ सालमा स्थापित मञ्चले विभिन्न सामाजिक क्रियाकलापका अतिरिक्त बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न महिला केन्द्रित सहयोगी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
मञ्चले ‘निरन्तर’ नामक एक विशेष प्रकाशनमार्फत पाख्रीबासमा विकास भएका तत्कालीन कृषि, पशु तथा वन प्रविधिको अन्वेषण तथा प्रसारमा अपनाइएका रणनीति, पद्धति, प्रक्रिया, शैली तथा विशेष अनुभवको अभिलेखसमेत प्रकाशन गर्दै आएको मञ्चका सदस्य तथा सम्पादक चेतनाथ कणेल ‘हरित’ले बताए ।