काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ ।
उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सरकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्यालयले नै गर्ने भएको हो । यसका लागि गाउँपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको छ ।
यसअघि जिल्लास्थित नापी र मालपोत कार्यालयका कर्मचारीले जग्गाधनीको पहिचान गर्दै लालपुर्जा दिलाउँदै आएका थिए । हालसम्म ५३१ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । अब बाँकी करिब ५०० लालपुर्जा आजदेखि वितरण गर्ने कार्यक्रम बनाइएको ८ नं वडाका अध्यक्ष मोतीलाल लामाले बताए। उनका अनुसार जिल्लास्थित नापी र मालपोत कार्यालयद्वारा तयार लालपुर्जा वितरण गर्न लागिएको हो भने त्यसपछिका कित्ताकाटलगायतको काम गाउँपालिकास्थित भूमि व्यवस्थापन शाखाले गर्नेछ ।
शाखाको शुक्रबार गाउँपालिका अध्यक्ष प्रेम भुजेलले शुभारम्भ गरेका छन् । लालपुर्जाका समस्याका बाँकी काम शाखाले नै गर्ने अध्यक्ष उनले बताए। उनका अनुसार केही जटिलता आए जिल्लास्थित मालपोत तथा नापी कार्यालयसँग समन्वय गरिनेछ । संघीय सरकारले पहिलो चरणमा छनोट गरेको ३५ स्थानीय तहमध्ये काभ्रेको भुम्लु र रोशी गाउँपालिका छनोटमा परेका थिए ।
लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रुपमा २०८२ भदौदेखि वितरण गर्न थालिएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४ सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ गरी ४३१ जग्गाधनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
क्रमिकरुपमा तयार १०० लालपुर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले जानकारी दिए। उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पुर्याएर लालपुर्जा वितरण भइरहेको हो भने हालसम्म थप तयार करिब ५०० लालपुर्जा वितरणको तयारी भएको हो ।
समस्या समाधानका लागि जिल्लास्थित नापी कार्यालयले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । टोली मात्र नभई कार्यालयको आवश्यकताले विसं २०७६ मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालय स्थापना गरियो । कार्यालयका अनुसार वडा नं ७ मा ३००र ८ मा ६०० लालपुर्जा बनाउनुपर्ने देखिएको थियो ।
घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।
कार्यालयले लालपुर्जा वितरण गरेपछि जग्गासम्बन्धी सबै स्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरू नापी कार्यालयमा ल्याई हालै गाउँपालिकामा स्थापित भूमि व्यवस्थापन कार्यालयसँगको समन्वयमा जग्गा प्रशासनको काम सुरु हुने जनाइएको छ । केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा भने काम गर्न केही समस्या भइरहेको भुषालले बताए। यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ ।
उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौंसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समिति गठन गरिएको थियो भने कयौँ पटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्किएको थिएन । गाउँपालिकामा आएका निवेदन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको देखिएको कार्यालयले जनाएको छ ।