आज बिहान धनकुटा बजारको जिरो प्वाईन्टमा एक यात्रुवहाक बसले किचेर ४५ बर्षिया महिलाको मृत्यु भएको छ । धरानबाट तेह्रथुम जादैगरेको को १ ख ४०७४ नं. को बसले किचेर धनपा ९ बेलहाराकी बर्ष ४५ की गुना राईको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बसबाट ओर्लेकी उनलाई सोहि बसको पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । बिहान करिव ८ः ५५ बजे भएको उक्त घटना पछि चालक र बसलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याईएको छ ।
त्यस्तै बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् ।
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो । गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए ।