कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।
बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ । शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर मातहतका एकाइमा पठाएको छ । कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउँछन् ।
महिला मृत फेला
बैतडीको चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् ।
नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।