काठमाडौँ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हिजो दिउँसो सुके धारामा एक महिलाको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।
त्यही घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एक जनालाई बेलुकी जडीबुटीबाट गोली चलाएर पक्राउ गरेको गरिएको हो । घाइते कार्कीलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ भने घाइते प्रहरी कर्मचारीको उपचार कान्तिपुर अस्पतालमा भइरहेको जनाइएको छ ।