रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा संघीय प्रणालीलाई थप प्रभावकारी र सबल बनाउने विषयमा केन्द्रित छलफल भएको हो । भेटमा प्रदेश तहको संस्थागत क्षमता अभिवृद्धि र अन्तरप्रदेशीय समन्वय तथा सहकार्य विस्तार गर्ने विषयमा विचार–विमर्श गरिएको जनाइएको छ ।
सो अवसरमा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमका प्राथमिकतामाथि पनि छलफल भएको बताइएको छ ।
भेटका क्रममा प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रमहरूको समग्र समीक्षा गरेर मात्र नयाँ योजना अघि बढाउन सुझाव दिएका छन् । उनले सम्पन्न योजनाबाट प्राप्त उपलब्धि र अधुरा रहेका परियोजनाको कारण पहिचान गरी कार्यान्वयनमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
उक्त भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।