काठमाडौं ६ लेन सडकअन्तर्गत मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा शनिबारको मध्यरातमा भएको सडक दुर्घटनामा परी छोरीको मृत्युविरुद्ध आमाले किटानी जाहेरी दिएकी छन्।
उक्त दुर्घटनामा एक महिलाको मृत्यु हुँदा अरु तीन पुरुष घाइते भएका थिए। भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको बा ८ च ४७५६ नम्बरको कार हिजो राति पौने १ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो।
तीव्र गतिको कार अनियन्त्रित भएर सडकबीचको फलामे रेलिङ नाघेर अर्को साइडको लेनमा पल्टिन पुगेको थियो। दुर्घटनामा कारको एकापट्टि भाग पूर्ण क्षतिग्रस्त भएको छ।
दुर्घटनामा काठमाडौं महानगरपालिका ४ धुम्बाराही पीपलबोट बस्ने ३० वर्षीया रीया श्रेष्ठको मृत्यु भएको थियो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कारका चालक भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की भने सामान्य घाइते भएका छन्।
कारका चालक सहित अन्य दुई जना भने सामान्य घाइते हुने तर रीयाको मात्रै मृत्यु भएपछि उनकी आमा सम्झना श्रेष्ठले महानगरीय प्रहरी वृत्त ठिमीमा चालकविरुद्ध किटानी जाहेरी दिएकी हुन्।
त्यस्तै कारको पछाडि सीटमा बस्ने मध्यपुर थिमि नगरपालिका ५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका ४ गाम्चा दधिकोट बस्ने २७ वर्षीय सुदीप थापा पनि सामान्य घाइते भएको परिसरले जनाएको छ।
कारका चालक कार्कीसहित अन्य दुई जना भने सामान्य घाइते हुने तर रीयाको मात्रै मृत्यु भएपछि उनकी आमा सम्झना श्रेष्ठले महानगरीय प्रहरी वृत्त ठिमीमा चालक कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन्।
दुर्घटनामा परी रीयाको घटनास्थलमै मृत्यु भएको थियो। मृतक रीयालाई छाडेर चालक कार्कीसँगै तीनै जना भागेका थिए। पछि चालकसहित सबै प्रहरी सम्पर्कमा आएको प्रहरीले बताएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले चालक कार्की र मृतक रीयाबीच आपसी चिनजान रहेको थियो। उनीहरु नगरकोटमा गएर आएको र भक्तपुरको राधेराधे पुगेपछि चालक कार्कीले आफ्ना दुई साथी देउजा र थापालाई पिक गरेको ती प्रहरी अधिकारी बताउँछन्।