स्याङ्जा प्रहरीको प्रमुख भएर गएका एसपी होविन्द्र बोगटीले प्रहरी कर्मचारीका लागि केही दिनअघि एक अभियानको सुरुवात गरे । अभियान थियो प्रत्येक दिन साँझ विवाहित प्रहरी कर्मचारीले श्रीमतीलाई ‘आइ लभ यू गुड नाइट’ भन्नुपर्ने ।
त्यसका लागि उनले जिल्लामा रहेका प्रहरीलाई सामेल गराए । सामेल गराउँदा प्रहरी कर्मचारीलाई लागेको थियो एसपी वोगटीले कुनै खास निर्देशन दिनेछन् । तर वोगटीले सोधेको प्रश्नले सबै प्रहरी अचम्मित भए । एसपी वोगटीले सोधे–श्रीमतीलाई ‘आइ लभ यू’ क कसले भन्नुहुन्छ ? कसैले जवाफ दिएनन् ।
घरकी श्रीमतीलाई ‘आइ लभ यू’ भन्नु नभन्नुले प्रहरी कार्यालयको काममा के अर्थ राख्छ?
प्रहरी उपरीक्षक बोगटीले विस्तृत अर्थ्याउन खोजे।
बोगटीका अनुसार हरेक मानिसको दैनिकी सर्वप्रथम घरकै माहोलबाट चलिरहेको हुन्छ। घरको वातावरणले कार्यालयको काममा सिधै असर गर्छ।
अझ चौबिसै घन्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीका लागि त झन् घरायसी वातावरणको असर महत्वपूर्ण नै छ। किनकि, प्रहरी सडक, चोक, बजार, कार्यालय जता पनि जनतासँग खटिरहेका हुन्छन्, त्यसैले उनीहरूको दिमाग जतिबेलै ताजा हुनुपर्छ।
कतिपय फौजी संगठनका कर्मचारी परिवारमा तनाव हुँदा डिप्रेसनको सिकार भइरहेका छन्। उनीहरू ड्युटी सकेपछि मदिरा सेवन गर्ने, बढी उत्तेजनामा आउने र अप्रिय कदम चाल्ने गर्छन्।
बोगटी अपराध अनुसन्धानमा दख्खल राख्ने प्रहरी अधिकृत हुन्। उनले पारिवारिक कलहका कारण घटेका थप्रै घटनाको अनुसन्धान गरेका छन्।
उनी भन्छन्, ‘मानिसको सबैभन्दा ठूलो कुरा पहिले परिवार ठीक हुनुपर्छ, परिवार ठीक भयो भने हरेक काममा त्यसले सकारात्मक प्रभाव ल्याउँछ।’
यसलाई उनले कार्यालयको कार्यसम्पादनसँग जोडेका छन्।
बोगटीले आफू गएपछि स्याङजा प्रहरीमा यो अभियान थालेका थिए। अहिले हरेक प्रहरी कर्मचारीले आफ्नी श्रीमतीलाई बेलुका ‘आइ लभ यू’ भन्नैपर्छ।
प्रहरी कर्मचारीले श्रीमतीलाई ‘आइ लभ यू’ भन्छन्/भन्दैनन् भनी जाँचबुझ गर्न प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीलाई फोकल पर्सन नै तोकिएको छ। उनले हरेक प्रहरीका श्रीमती र छोराछोरीको नम्बर राखेका छन्।