काठमाडौँ । सप्तरीको शम्भूनाथ नगरपालिका ३ स्थित शम्भुनाथ सिरुवा रमाइलो मेलामा अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शम्भूनाथ नगरपालिका–२ निवासी ३२ वर्षीय अनिल साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार वैशाख २६ गते राति करिब १०:०५ बजे शम्भूनाथ नगरपालिका–३ स्थित शम्भूनाथ बाबा मन्दिर परिसरमा सञ्चालन भइरहेको सिरुवा रमाइलो मेलामा साहले मादक पदार्थ सेवन गरी मेलामा आएका व्यक्तिहरूसँग अश्लील शब्द प्रयोग गर्दै धकेलाधकेल गरेको आरोप छ।
स्थितिलाई नियन्त्रणमा लिन पुगेका प्रहरी माथिसमेत उनले गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि उनलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।