काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका उद्योगी शेखर गोल्छा पुनः पक्राउ परेका छन् । धितोपत्र सम्बन्धी मुद्दामा धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई बीमा ऐनसम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा समूहका अध्यक्षसमेत रहेका गोल्छा यसअघि नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा वैशाख ११ गते पक्राउ परेका थिए । अहिले भने उनीमाथि बीमा ऐनसम्बन्धी आरोपमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामा राख्ने प्रक्रियामा कानुनी त्रुटि भएको ठहरसहित गोल्छालाई तत्काल रिहा गर्न परमादेश जारी गरेको थियो । सोही आदेश कार्यान्वयनपछि उनी रिहा भएका थिए ।
तर, अदालतबाट रिहा हुने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले यसअघि नै बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी लिएको थियो । सोही आधारमा सिआइबीले गोल्छालाई अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको हो ।