गोरखाको बाह्रकिलो बारपाक सडक खण्डको छेवेटार सेक्सनमा गरिएको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले उप्काई दिएका छन्। आइतबार साँझ सडक दुबैतर्फ बन्द गरेर बिच भागमा निर्माण कम्पनीले मापदण्ड पुरा नगरी कालोपत्र गरेपछि स्थानीयले सोमवार बिहानै हातैले कालोपत्र उप्काइ दिए।
‘हातले कोट्याउँदा आउने यो कस्तो कालोपत्र हो’ स्थानीय ईश्वर बस्नेतले भने, ‘कालोपत्रे गर्दा ध्यान दिएनन्।’ उक्त सडक खण्ड गोरखा एप्रोपिरेट प्रालीले निर्माण जिम्मा लिएको हो।
एक किलोमिटर पाँच सय मिटर सडक कालोपत्र गर्न एक करोड ७७ लाखामा सम्झौता भएको थियो। एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजना कार्यालयले २०७६ बैशाख ३० गते भित्र सिध्याउनु पर्ने सम्झौता गरेको थियो। कोभिड–१९ को प्रभावका कारण निर्माण कम्पनीलाई छ महिना म्याद थप भएको छ ।
मंसिर ३० सम्म काम सम्पन्न गर्नु पर्ने भएकोले कालोपत्र समय घर्किएकाले व्यवसायीले हतार हतार गरेका छन्। निर्माण कम्पनीको मनपरीका कारण कालोपत्र गुणस्तरीय नभएको कार्यालयका इन्जिनियर राजेश यादवले बताए। ‘गुणस्तरहीन भएको ठाउँमा भत्काएर पुन कालोपत्र गर्न लगाउँछौंँ’, उनले भने, ‘आफ्नो सुरमा व्यवसायीले काम गर्दा यस्तो भयो ।’ सुधार गर्न कार्यालयले पत्राचार गरिसकेको उनले बताए।
निर्माण कम्पनीका इन्जिनियर अविजित कोईरालाले कालोपत्रका क्रममा पेल्दा राम्रो सँग ‘सेट’ भएको बताए। ‘यहाँ केही कमजोरी भयो, हामी सुधार गर्छाैं’, उनले भने। अहिले कलोपत्र हुन लागेको उक्त सडक केहीवर्ष अघि कालोपत्र भएर पुनभत्किएको खण्ड हो।