दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो १ः३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकरी दिनुभयो ।
सुर्नया–८ का मोटरसाइल चालकसमेत रहेका ३४ वर्षीय जनक लुहारको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश०१०१३प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का लुहारले चलाएको से५प ४७१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी पुर्चाैडी–५ का २४ वर्षीय मोटरसाइल चालक अमिर कडायत, सोहीका वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएको उहाँले बताउनुभयो । घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।