काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गरेकी छन् ।
आज सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेशन’ तथा ‘ई-पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिए। उनले यससम्बन्धी समझदारी पत्रको अध्ययनपछि सहकार्यको ‘मोडालिटी’बारे थप छलफल गरिने उल्लेख गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
युएनडिपीकी आवासीय प्रतिनिधि योकोसुकाले सांसदहरूको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताएका थिए ।
उनले डिजिटल संसद् निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान-प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको बनाएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताएका थिए ।