काठमाडौँ- वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ । विभागले आज एक सूचनामार्फत पछिल्लो एक महिनामा विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका (वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दा)मा जाहेरी दर्ता भएकाहरूको नामावली सार्जजनिक गरेको हो ।
सार्वजनिक सूचनामा ३५२ वटा जाहेरी परेका छन् भने त्यसमा ३५२ भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । एउटै जाहेरीमा ८१० जनासम्म प्रतिवादी रहेका विभागले जनाएको छ । विभागले गत फागुन १७ गतेदेखि यही चैत १७ गतेसम्म व्यक्तिगत रूपमा जाहेरी परेका प्रतिवादीहरूको नाम सार्वजनिक गरेको हो ।
आज पनि यात्रुलाई दुख दिने १३ जना पक्राउ
काठमाडौँ प्रहरीले आज पनि यात्रुलाई विभिन्न बहानामा दुखहैरानी दिने १३ जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो चार दिनदेखि नेपाल प्रहरीले बिचौलियाका रूपमा सर्वसाधारण नागरिकलाई दुखहैरानी दिने व्यक्तिलाई पक्राउ गर्ने अभियान जारी राखेको छ ।
सोही क्रममा आज कलङ्की र नयाँ बसपार्कमा खटिएको प्रहरीले निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँस्थितमा विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा सुमोका यात्रुलाई आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी झोला तथा सामान जबरजस्ती तान्ने, दुःखहैरानी दिई अभद्र व्यवहार गर्ने गरेको यात्रुको गुनासोका आधारमा पक्राउ गरिएको हो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १३ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नयाँ बसपार्कबाट १२ र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कलङ्कीस्थित सडकबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।
दुईदिन अघि काठमाडौँ प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो । केही दिन अघि ललितपुर प्रहरीले एकान्तकुनाबाट १५ जनालाई पक्राउ गरेको थियो । त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयबाट प्रहरीले बिचौलियाका आरोपीलाई पक्राउ पर्दै आएको छ ।