काठमाडौं । पछिल्लो समय समाजिक सञ्जाल ट्वीटर निकै लोकप्रिय बन्दै गएको छ। राजनीतिज्ञदेखि सेलिब्रेटीसम्म ट्वीटरमा सक्रिय रहन्छन्। बेला बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्वीटले विवादसमेत सृजना गर्ने गरेको छ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरमा निकै सक्रिय रहन्छन्। उनले हरेक सूचना ट्वीटरमार्फत सार्वजनिक गर्ने गर्दछन्। ट्रम्प र मोदीको ट्वीटरमा आलोचनाले भरिएको धेरै कमेन्ट आउँछन्, ती आलोचनापूर्ण कमेन्टलाई उनीहरुले स्वीकार गरेको देखिन्छ।
विश्वका राजनीतिज्ञदेखि सरकार प्रमुख र राष्ट्रप्रमुख ट्वीटरमा सक्रिय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अप्रिल २०१८ देखि ट्वीटमा जोडिएकी छन्। राष्ट्रपति भण्डारीलाई १८ हजार ४ सय जनाले ट्वीटरमा पछ्याएका छन् तर राष्ट्रपति भण्डारीले कसैलाई पनि पछ्याएकी छैनन्।
राष्ट्रपतिले गर्ने ट्वीटमा लाइक रिट्वीट र कमेन्ट गर्नु स्वाभाविक नै हो। राष्ट्रपति भण्डारीले अगस्ट ३१ मा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेकी छन्। उक्त ट्वीटमा ९५ वटा कमेन्ट आएका छन्। १ सय ६६ जना रिट्वीट गरेको उक्त ट्वीटलाई एक हजार ६ सय जनाले लाइक गरेका छन्।