काठमाडौँ । वीरगञ्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत पुष्टि हुन नसकेको ठूलो परिमाणको नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका-१७ अलौं निवासी ५० वर्षीय विनयशंकर साह तुराहा पक्राउ परेका हुन्। उनी भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा रहेका थिए। भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीले रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको सिटकभरमुनि लुकाइएका रकम फेला परेको हो।
जाँचका क्रममा नेपाली मुद्रा २० लाख २ हजार ५० रुपैयाँ तथा भारतीय रुपैयाँ ६ सय बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनीसँगै उक्त रकम र मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिलाई बरामद रकम र सवारीसाधनसहित आवश्यक प्रक्रिया अघि बढाउनका लागि शुक्रबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।