काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई बालेन्द्र शाह (बालेन) प्रति विश्वास रहेको बताएकी छन्। उनले भनिन्, “बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु। मलाई बालेनप्रति विश्वास पनि छ। केही होला भन्ने आशा छ।”
प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हारको अनुमान आफूले नलागेको बताइन्। रासससँगको अन्तरवार्तामा उनले भनिन्, “मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँको ३०–४० वर्षको राजनीति, इष्टमित्र र परिचित सबै रहेको ठाउँ हो। अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ – राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि काँग्रेसमा छन्। वर्षभरि पार्टीलाई समर्थन गर्छन्, तर भोट दिने बेलामा भिन्न हुन्छ। तपाईँलाई भोट दिन्छन् भनेको थिएँ, त्यस्तो होला भन्ने त मलाई पनि लागेको थियो।”
उनले निर्वाचनपश्चात् जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने र अल्पमतलाई पनि बेवास्ता गर्नु नहुने बताइन्। “पुराना पार्टीलाई नयाँ सरकारले सम्मान गर्नुपर्छ। सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले नयाँ सरकारले सबैभन्दा पहिला सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था जस्ता प्रमुख माग पूरा गर्नुपर्ने धारणा राखिन्। उनले थपिन्, “खुलेआम भ्रष्टाचार रोक्नुपर्छ।”