सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका काठमाडौँ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने बताएका छन् ।
सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्र.जि.अ. दाहालले स्पष्ट पारे । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उनको सुझाव छ ।
आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र.जि.अ. दाहालले जानकारी दिएका छन् । सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उनले आग्रह गरेका छन् ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न सकिनेछ । तर व्यापारीहरुले उक्त्त कुराको अटेर गर्दै पसल खोलेपछि पुन लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।