काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि स्थापना गरिएका निर्वाचनसम्बन्धी विशेष इकाइ तथा समन्वय केन्द्रहरू बन्द गरिएको छ।
निर्वाचन आयोगले निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्र स्थापना गरेको थियो। मतदान र मतगणना प्रक्रिया सम्पन्न भइसकेको सन्दर्भमा आयोगको हिजो बसेको बैठकले ती सबै इकाइ तथा केन्द्रहरू आजदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको हो।
निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो।
यस्तै मतदाता तथा सर्वसाधारणका निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर सञ्चालन गरिएको थियो। सुरक्षा निकायबीच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र पनि सञ्चालनमा ल्याइएको थियो।
सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्धन इकाइले निर्वाचनसम्बन्धी ९९८ वटा हानिकारक सूचना पहिचान गरी विश्लेषणसहित सम्बन्धित नियामक निकायमा पठाएको आयोगले जनाएको छ।
त्यसैगरी केन्द्र मातहतकै विद्युतीय मतदाता शिक्षा इकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी ७०४ वटा भिडिओ र पोस्टर सामग्री निर्माण गरी आयोगका डिजिटल प्लेटफर्ममार्फत प्रकाशन तथा प्रसारण गरेको थियो।
आयोगको प्रेस अफिसले आयोगका गतिविधिबारे सूचना प्रवाह, सञ्चारमाध्यमसँग समन्वय, प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकामा प्रकाशित सामग्रीको विश्लेषण, आचारसंहिता विपरीतका सामग्री पहिचान गरी कारबाहीका लागि सिफारिस गर्ने तथा मतदाता शिक्षासम्बन्धी सामग्री निर्माण गर्ने काम गरेको थियो।
त्यस्तै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा आम मतदाताबाट आएका ८ हजार २२० जिज्ञासाको सम्बोधन गरेको जनाएको छ।
यसैबीच संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र तथा निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय र ट्र्याकिङ, हवाई ढुवानी कार्ययोजनाको तयारी तथा कार्यान्वयन, मतदान केन्द्रसम्म सामग्री ढुवानीको अनुगमन, तथा निर्वाचन सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण र प्रतिवेदन तयारीलगायतका काम प्रभावकारी रूपमा सम्पन्न गरेको आयोगले जनाएको छ।
निर्वाचन अवधिभर समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सम्बन्धित निकाय तथा खटिएका विज्ञ र कर्मचारीप्रति निर्वाचन आयोगले धन्यवाद तथा आभार व्यक्त गरेको छ।