काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसदको सम्भावित अंकगणित लगभग स्पष्ट भएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतका आधारमा करिब ५७ सिट पाउने अनुमान गरिएको छ।
निर्वाचन आयोगले औपचारिक रूपमा सिट निर्धारण भने गरिसकेको छैन। आयोगले प्रयोग गर्ने सेन्ट–लग (Sainte-Laguë) सूत्र अनुसार दलहरूले प्राप्त गरेको मतको आधारमा गणना गर्दा रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाउने देखिएको हो।
यदि आयोगले यही संख्या कायम गरेमा प्रतिनिधिसभामा रास्वपाको कुल सिट १८२ पुग्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्र बहुमतबाट पछि पर्ने देखिन्छ।
समानुपातिकतर्फ कुल १ करोड ७ लाख ६४ हजार ८८९ मत खसेकोमा रास्वपाले ५१ लाख ४६ हजार ६८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो।
अन्य दलहरूको स्थिति
समानुपातिक प्रणालीबाट ६ वटा दल संसदमा प्रवेश गर्ने देखिएका छन्। नेपाली कांग्रेस: समानुपातिकबाट २० सिट, प्रत्यक्षबाट १८ सिट गरी कुल ३८ सिट। कांग्रेसले १७ लाख ५४ हजार ५२ मत प्राप्त गरेको छ। यो संख्या अघिल्लो संसदको ८९ सिटभन्दा उल्लेख्य रूपमा कम हो।
नेकपा (एमाले): समानुपातिकबाट १६ सिट र प्रत्यक्षबाट ९ सिट गरी कुल २५ सिट। एमालेले १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ, जुन अघिल्लो चुनावको तुलनामा झन्डै आधा घटेको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा): समानुपातिकबाट ९ सिट र प्रत्यक्षबाट ८ सिट गरी कुल १६ सिट। यस पार्टीले ८ लाख ८ हजार ५८२ मत पाएको छ।
श्रम संस्कृति पार्टी: समानुपातिकबाट ४ सिट र प्रत्यक्षबाट ३ सिट गरी कुल ७ सिट। चार महिनाअघि मात्र गठन भएको यो पार्टी पहिलो चुनावमै संसदमा प्रवेश गरेको हो।
राप्रपा: समानुपातिकबाट ४ सिट र प्रत्यक्षबाट १ सिट गरी कुल ५ सिट।
यस चुनावमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी भने संसदमा प्रवेश गर्न असफल भएका छन्। उनीहरूले समानुपातिकतर्फ आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन्।
आयोगको आगामी प्रक्रिया
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फको मतगणना सकिएकाले अब सिट बाँडफाँट प्रक्रिया अघि बढ्नेछ।
उनले भने, “दलहरूले पाएको सदर मतका आधारमा सिट निर्धारण गरिन्छ। त्यसपछि सम्बन्धित दलहरूलाई तीन दिनभित्र बन्दसूचीबाट नाम सिफारिस गर्न पत्र पठाइनेछ।”
दलहरूले पठाएका नामहरूको पुनः जाँचपछि आयोगले समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।