धनकुटा । चार जना व्यक्तिबाट यौन हिंसामा परेकी एक १३ बर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । धनकुटामा चार जनाको यौनहिंसाबाट बलात्कारको शिकार बनेपछि गर्भ बोकेर महिला पुनस्र्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी ती बालिकाले सोमबार साँझ कोशी अञ्चल अस्पताल विराटनगर बच्चा जन्माएकी हुन् ।
बालिकामाथि यौनहिंसाको घटनामा संलग्न चार आरोपित पुर्पक्षका लागि कारागारमा छन् । जन्मिएको शिशु कसको हो भनेर सर्वत्र अहिले चासो बढेको छ । ती दलित बालिकामाथि लामो समयदेखि पटक–पटक यौन शोषण गरेको आरोपमा पीडित परिवारको उजुरीका आधारमा उनीहरू पक्राउ परेका थिए । पुर्पक्षका लागि जिल्ला कारागार धनकुटामा थुनिएकामध्ये एक जना शिक्षक छन् ।
उनीहरूको मुद्दा जिल्ला अदालत धनकुटामा विचाराधीन छ । चारै जनाले बारम्बार यौन शोषण गरेको किटानी जाहेरीमा उल्लेख छ । जाहेरी दिएयता पीडित बालिका महिला पुनस्र्थापना सेवा केन्द्रको संरक्षणमा रहँदै आएकी छिन् ।
बालिका महिला पुनस्र्थापना सेवा केन्द्रमा राखिएको चार महिनापछि आमा बनेकी हुन् । सुत्केरी बेथा लागेपछि आइतबार साँझ जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन लगेका थिए । तर बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले सोमबार कोशी अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनस्र्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले जानकारी दिएकी छिन् । हिंसापीडित बालिकालाई ओसिएमसी एकद्वार संकट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रियापछि शिशु जन्मिएको उपाध्यक्ष राईले बताइन् ।
बालिकाका आफन्तले किटानी जाहेरी दिएका आधारमा धनकुटा–६ सिरान बजारमा रहेको गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ गरिएका अन्यमा धनकुटा–६ का गौरी अत्री, भीमनारायण चोकका एक होटल व्यवसायी देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर छन् । छुट्टाछुट्टै मिसिल उठाएर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले जनाकारी दिएका छन् । चारै जनाले सामुहिक बलात्कार गरेको नभई छुट्टाछुट्टै यौन शोषण गरेकाले मुद्दा पनि अलग–अलग दर्ता गरिएको श्रेष्ठले बताए ।
त्यसै गरी आफ्नै बुबाबाट यौन हिंसामा परी गर्भ रहेको चौबिसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्थामा रहेको महिला पुनस्र्थापना सेवा केन्द्र धनकुटाले जनाएको छ । असोज अन्तिममा उनी सुत्केरी हुने बताइएको छ ।
अरू दुई जना आफ्नै बुवाको करणीबाट गर्भ रहेका र तीन–चार जनाबाट जबरजस्ती करणीमा परेकी एक जना अपाङ्गता भएकी बालिका समेत गरी पाँच जना केन्द्रको संरक्षणमा रहेको त्यहाँकी अध्यक्ष हिमा चेम्जोङले जानकारी दिएकी छिन् ।