पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३ सय ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् । यस्तै काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
२२ सय ८७ संक्रमित निको हुँदा ९ सय २ नयाँ संक्रमित थपिए
वितेको २४ घन्टामा नेपालमा २ हजार २ सय ८७ जना कोरोना संक्रमित व्यक्तिहरु कोरोना मुक्त भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्गर गौतमका अनुसार देशका विभिन्न अस्पताल, आइसोलेसन केन्द्र र होम क्वारेन्टिनमा रहेका २२ सय ८७ जना निको भएसँगै निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको जानकारी दिए ।
त्यस्तै गत २४ घन्टामा देशभर रहेका प्रयोगशालामा १० हजार ६ सय ११ जनाको नमूना परिक्षण गर्दा ९ सय २ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
थप ६ जनाको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ ।