काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।
तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्यांग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।