काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति मधेस प्रदेशका मतदातामा तुलनात्मक रूपमा बढी उत्साह देखिएको एक सर्वेक्षणले जनाएको छ। आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदाता आगामी निर्वाचनप्रति उत्साहित देखिएका छन्।
जियोकका महासचिव कृष्णमान प्रधानका अनुसार भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले यसलाई विगतभन्दा भिन्न र विशेष रूपमा हेरिएको छ। सर्वेक्षणले मधेस प्रदेशमा निर्वाचनप्रति ७९.२ प्रतिशत विश्वास रहेको देखाएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार नवयुवा पुस्ताले यस निर्वाचनलाई फरक अवसरका रूपमा लिएका छन् भने अधिकांश मतदाता तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा विश्वस्त छन्।
करिब १०० जना मतदातामा गरिएको सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले फागुन २१ गते हुने निर्वाचनबारे आफू सचेत रहेको बताएका छन्। सहभागीमध्ये ३४ प्रतिशत उच्च रूपमा राजनीतिक शक्तिबाट प्रभावित रहेको तथा ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको उल्लेख छ। जेनजी आन्दोलनको प्रभावले चुनावी नतिजामा केही फेरबदल आउन सक्ने अनुमान पनि प्रतिवेदनमा गरिएको छ।
निर्वाचन सफलताका लागि शान्ति–सुरक्षालाई मुख्य चुनौतीका रूपमा पहिचान गरिए पनि पछिल्लो समय विकसित चुनावी वातावरण सकारात्मक देखिएको जियोकले जनाएको छ। यद्यपि राजनीतिक दलका कार्यकर्ताबीचको विवादले केही स्थानमा छिटफुट सुरक्षा चुनौती निम्त्याउन सक्ने सम्भावना औँल्याइएको छ।
सर्वेक्षणअनुसार २१ प्रतिशत मतदाताले आफ्नो निर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेका छन्। लैङ्गिक आधारमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला सामाजिक सञ्जालबाट प्रभावित देखिएका छन्। प्रतिवेदनमा नवयुवा पुस्ता प्रविधि र सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा प्रभावित भएको उल्लेख छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउन पैसा र पहुँचको दुरुपयोगलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ। साथै भ्रामक सूचनाको प्रभाव रोक्न समयमै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
जियोकको निष्कर्षअनुसार निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक वातावरण निर्माण भइरहेको, मतदातामा उत्साह बढ्दो रहेको र नयाँ राजनीतिक शक्तिको उदयका सङ्केत देखिएको छ। निर्वाचनपछिको सुधार र नयाँ राजनीतिक परिदृश्यका सम्भावना पनि सकारात्मक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।