काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ ।
समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९: ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो ।
‘साँझ ४:३० बजेदेखि भोलि बिहान मिति २०८२/११/१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
आज नै बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको थियो ।
आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न हुँदा वीरगञ्जको श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो । उक्त तनावबाट वीरगञ्जको परिस्थिति नबिग्रियोस् भनेर स्थानीय प्रशासनले बिहान पौने १० बजेदेखि कर्फ्यू लगाएको थियो ।