काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः दोहोरिने इच्छा देखाएका छन् ।
चार वर्ष अगाडि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको कार्यकाल अबको केही दिनभित्र समाप्त हुँदै छ । चार वर्ष अगाडि १८ घण्टासम्मको लोडसोडिङलाई घिसिङले हटाएका थिए ।
एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा घिसिङले सरकारले जिम्मेवारी दियो भने कार्यकारी निर्देशक हुन आफू तयार रहेको बताए । ‘म निर्विकल्प होइन । बिकल्प प्रसस्त छन्’, उनले भने, ‘पुनः जिम्मेवारी दिइयो भने म पछाडि हट्दैन । जिम्मेवारी दिएपछि बहन गर्न सक्छु ।’
चार वर्षको अवधिमा प्राधिकरणमा आफूले धेरै आधारहरू तयार पारेको बताए । उनले त्यो आधारलाई टेकेर प्राधिकरणलाई अझै उचाइँमा लैजाने बताएका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशक बन्न विभिन्न व्यक्तिहरूको दौडधुप शुरु भएको छ । घिसिङ पनि इच्छुक देखिएपछि सरकारलाई जनस्तरबाट कार्यकारी निर्देशकमा दोहोर्याउन दवाव परेको छ ।
घिसिङलाई दोहोर्याउन अहिलेका उर्जामन्त्री वर्षमान पुन इच्छुक छैनन् । जनस्तरबाट दवाव हुँदैन थियो भने मन्त्री पुनले घिसिङलाई दुई वर्ष अगाडि नै हटान खोजेका थिए । घिसिङको पक्षमा रहेको समर्थनबाट डराएर पछाडि हटेका हुन् ।
अहिले पनि मन्त्री पुन घिसिङलाई दोहोर्याउन चाहँदैनन् । स्रोतले भन्यो, ‘कुलमान घिसिङले गर्दा हाइड्रो र विद्युतको क्षेत्रमा मन्त्री पुनले केही पनि काम गर्न सकेका छैनन् । घिसिङलाई हटाएर आफू अनुकूलको कार्यकारी निर्देशक ल्याएर काम गर्ने योजना छ ।’
कठिन अवस्थामा लोडसेडिङ अन्त्य गरेर प्राधिकरणलाई नाफामा पु¥याएका घिसिङको कुसल नेतृत्वले नै मुलुक लोडसेडिङमुक्त भएको छ ।