काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिज प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको ठहर गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
सरकारी वकिलको कार्यालयमार्फत बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो। सीआईबीले करिब एक महिनासम्म गरेको अनुसन्धानपछि तत्कालीन नेपाल ट्रस्ट सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पा लगायत चार जनालाई प्रतिवादी बनाएर ठगी तथा आपराधिक लाभको अभियोग लगाएको हो।
सात वर्षअघि दरबारमार्गस्थित बहुमूल्य जग्गा थमसेर्कु डेभलपर्सलाई लिजमा दिने निर्णय भएदेखि नै प्रक्रिया अपारदर्शी र नियमविपरीत भएको आरोप लाग्दै आएको थियो।
अनियमितता र भ्रष्टाचारका पर्याप्त आधार देखिँदादेखिँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन समयमा मिलेमतोमा फाइल तामेलीमा राखेको आरोपसमेत उठेको थियो। उक्त निर्णयमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्की प्रत्यक्ष रूपमा संलग्न रहेको सीआईबीको दाबी छ।
सीआईबीका अनुसार, नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने प्रस्ताव हुँदाहुँदै करिब १ अर्ब ५९ करोड रुपैयाँमै सम्झौता गरिएको थियो। उक्त सम्झौता कानुन र प्रक्रियाअनुसार नभएको तथा यसबाट राज्यलाई ठूलो आर्थिक क्षति पुर्याइएको निष्कर्ष निकाल्दै ‘ठगी र आपराधिक विश्वासघात’सम्बन्धी मुद्दा अघि बढाइएको हो।