चितवन । सरकारले लकडाउन अन्त्यसँगै होटल सञ्चालन गर्न दिने भएपछि सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन्।आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन्। सौराहाबाट सुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको थियो।
कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले बताए। उनले भने, ुअब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ ।ु उनले व्यवसायी खुसी हुने अवस्था नरहे पनि होटल खोल्नुको विकल्प नभएको बताए। होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै उनले आवश्यक सावधानीका उपायहरु अपनाइने जानकारी दिए।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्वास्थ्य चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए।
उनले साइकलबाटै पर्यटकीय क्षेत्रहरुमा पुग्न सकिने स्थलको प्रचार गरी साइकलबाटै भ्रमण गर्ने सकिने वातावरण तयार पार्नुपर्ने बताए। सौराहादेखि कसरासम्मको साइकलयात्रापश्चात अब छिट्टै नै सौराहादेखि लोथरसम्मको साइकलयात्राको कार्यक्रम रहेको उनले जानकारी दिए।
सौराहामा रहेका ११० होटल चार महिनादेखि ठप्प छन्। रासस