काठमाडौँको मण्डिखाटारबाट नक्कली नोट छाप्ने मेसिनसहित एकजना युवा पक्राउ परेका छन् । सेन्ट जेभियर्स कलेजमा बीबीएस पढ्ने २२ वर्षीय प्रशान्त सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीरले १९ हजार नक्कली रुपैयाँ समेत बरामद गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका–३ घरबारीटोल स्थायी घर भएका प्रशान्तले घरमै कलर प्रिन्टरबाट नक्कली नोट छापेको बयान दिएको प्रहरीले जनाएको छ ।
कसरी परे फन्दामा ?
एकजनाले ‘भिभो–३’ मोबाइल बेच्न, विद्युतीय माध्यम अनलाइनमा सूचना पोष्ट गरे । त्यहाँ मोबाइलको फोटो पनि राखिएको थियो । किन्ने चाहने युवाले फोन गरे, स्वयम्भू हलचोकमा भेटेर मोबाइल किनबेच गर्ने कुरा भयो । २० हजार पाँच सयमा मोबाइल किन्ने बेच्ने सहमति भैसकेको थियो ।
बुधवार मोबाइल किन्ने युवा कार चढेर आए । हलचोकमा भेटेर मोबाइल लिए अनि आफैले पैसा गनेर मोबाइल बिक्रेतालाई दिए । खाममा हालेर बिक्रेतालाई पैसा दिने व्यक्ति थिए प्रशान्त सिंह । उनी हाइप्रोफाइल परिवारका रहेको प्रहरीले जनाएको छ ।
पछि, खामबाट पैसा झिकेर हेर्दा मोबाइल बेच्नेलाई नोटको गुणस्तरबारे शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसलगत्तै प्रशान्त प्रहरीको फन्दामा परेका हुन् ।