सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै जोर बिजोर प्रणाली पनि हटेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य गर्ने घोषणा गरेको हो ।
कोरोना संक्रमण रोक्न भन्दै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन ४ महिनापछि अन्त्य गर्ने निर्णय गरेको हो ।
योसँगै निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली पनि हटेको छ । सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य भएको छ । सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने मन्त्री खतिवडाले बताएका छन् ।
सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ।
सम्पूर्ण सवारी साधनहरु भदौ १ गतेदेखि खुल्ने
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए ।
तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।
भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ ।
सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो ।
के के मा अझै प्रतिवन्ध
तर सरकारले केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।
यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।
श्रावण ५ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक (सूचिसहित)
सरकारले श्रावण ५ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्बजनिक गरेका हुन् ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु कसरी सुचारु गर्ने भन्नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ ।
सरकारले यसअघि चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो ।
उक्त समितिको सिफारिसका आधारमा कोभिड-१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।
त्यस्तै सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । बैठकले अध्यक्षमा घिमिरेसँगै रिक्त रहेका दुई सदस्यको पनि पदपूर्ति गरेको छ ।
प्रशासकीय अदालतको सदस्यमा रीता मैनाली र कृष्णप्रसाद पौडेललाई नियुक्त गरिएको छ । पौडेल उच्च अदालत पोखराको रजिष्ट्रार हुन् । अध्यक्षमा नियुक्त घिमिरेले भने जेठ १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनिवार्य अवकास पाएका थिए ।
प्रशासकीय अदालत ऐन, २०७६ अनुसार अध्यक्ष र सदस्यको पदावधि ५ वर्षको हुनेछ ।