गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ ।
पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।
एउटा स्कूलमा पनि पहिरोले क्षति पुयाएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।
पहिराले पुरिएर बेपत्ता युवक दुई दिन बित्दा पनि भेटिएनन्
तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् ।
पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको श-व सोमबार नै फेला परिसकेको छ ।
पहिराले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण ९ का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ ।
सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ । प्रहरी उपरीक्षक पौडेलका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि स्काभेटर पनि प्रयोग गरिएको छ ।
“बेपत्ता भएकाको खोजीकार्यका लागि निरन्तर लागिपरेका छौँ, तैपनि उनलाई फेला पार्न सकिएको छैन”, पौडेलले भने ।
पहिराले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको निधन भएको थियो ।
बुबा ५० वर्षीय केशव थापा भने घाइते छन् । उनको पोखरामा उपचार भइरहेको छ । पहिराले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको मृत्यु भएको छ भने तीन घाइते छन् ।