धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ । श-व परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
ठक्कर दिँदा एकको मृत्यु
भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् ।
उनलाई आज बिहान ३ः३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
बोरामा शव
भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा श-व फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन् ।
थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी चार दिनयता हराइरहेका थिए । मङ्गलबार बोरामा श-व भेटिएपछि उनको परिवारले आफन्त भएको भनी सनाखत गरेका हुन् । ह-त्या भएको आशङ्कामा अनुसन्धानलाई तीव्रता दिइएको उनले बताए । उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।