काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्ये एक भायानेट कम्युनिकेसनले नवीनतम एक्सजिएस फाइबर प्रविधिमा आधारित टु जिविपिएस एक्सजीएस एक्सट्रिम प्याकेज मार्फत नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सार्वजनिक गरेको छ।
यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
एक्सजिएस-पिओएन अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० जिविपिएस सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ।
हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधिबाट अधिकतम डाउनलोड गति २.४ जिविपिएस र अपलोड गति १.२ १.2 जिविपिएस को रहेको छ। भायानेटले यो नयाँ प्रडक्ट लन्च गरेसँगै ग्राहकहरूले १० जिविपिएस सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्।
अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टी-डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ-नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ।
हालका लागि यो प्रडक्ट काठमाडौँ उपत्यकाका सीमित क्षेत्रहरूमा मात्र उपलब्ध छ। यद्यपि भायानेट छिट्टै यसको कभरेज उपत्यकाभर विस्तार गर्ने क्रममा रहेको जनाएको छ ।
भायानेट कम्युनिकेसन नेपालमा अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवाहरू उपलब्ध गराउन सधैं प्रतिबद्ध रहेको जनाएको छ । यो नयाँ प्रडक्ट भायानेटले विगतमा ल्याएका केही अग्रगामी आविष्कारहरूको निरन्तरता भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सन् २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर-टु-द-होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्याएको दाबी गर्छ । त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागि परिवर्तन गरेको पनि कम्पनीको दाबी छ ।
“हामीले गर्ने सबै कुराको केन्द्रमा हाम्रा ग्राहक रहेका छन् र उनीहरूको इन्टरनेटका आवश्यकताहरू समयसँगै विकसित हुँदै गएको कुरा हामीले बुझेका छौँ। एक्सजिएस एक्सट्रिम हामी नेपालमा नवीनतम प्रविधि मार्फत देशमा सबैभन्दा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न र उत्कृष्ट सेवाहरू ल्याउने हामी प्रतिबद्ध छौँ भन्ने कुराको अर्को एउटा उदाहरण हो,” भायानेट कम्युनिकेसन्सकी सिइओ सेवा पाठकले भनिन्।
सन् १९९९ मा स्थापना भएको भायानेट कम्युनिकेसन लि. नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो। दुई दशकभन्दा बढीको अनुभवका साथ भायानेट कम्युनिकेसनले नेपालभरका घर तथा व्यवसायहरूका लागि उच्च गतिको इन्टरनेट र उत्कृष्ट टिभी सोलुसनहरू उपलब्ध गराउँदै आएको छ।