काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशका ११ मन्त्रालयले उपलब्ध गराउने सेवालाई प्रदेशका ११ स्थानमा एकीकृत प्रादेशिक सेवा केन्द्रमार्फत् सञ्चालन गर्ने गृहकार्य थालेको छ ।
दुई वा दुई भन्दा बढी जिल्ला समेटेर बनाइएका प्रादेशिक कार्यालयबाट सेवा प्राप्त गर्न कठिन भएको गुनासो स्थानीय तहका जनप्रतिनिधिबाट आएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १३ वटै जिल्लामा एकीकृत प्रादेशिक सेवा केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए।
मुख्यमन्त्री जमरकट्टेलका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका लागि एउटा केन्द्र रहनेछ भने बाँकी प्रत्येक जिल्ला एक–एक केन्द्र सञ्चालन गरिनेछ । “यो विषयलाई हामी मन्त्रिपरिषदबाट निर्णय गर्नेछौँ”, मुख्यमन्त्री जमरकट्टेलले भने ।
कृषि, पर्यटन, सञ्चार, वन, उद्योगसँग सम्बन्धित कार्यालय प्रदेशको राजधानी बाहेकका जिल्लामा पनि रहे पनि नागरिकबाट गुनासो आएपछि एकीकृत प्रादेशिक सेवा केन्द्र सञ्चालन गर्न खोजिएको हो ।
भीमफेदी दक्षिणकाली सडक व्यवस्थित बनाउने योजना
काठमाडौँ उपत्यका र प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकलाई प्रदेश सरकारले व्यवस्थित गर्ने भएको छ ।
प्रदेशको राजधानी हेटौँडा पुग्न कठिन भएको, राजधानी अपायक परेको गुनासो आएपछि मुख्यमन्त्री जमरकट्टेलले कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई व्यवस्थित बनाउने योजना बनाएका छन्। हेटौँडा, भीमफेदी, कुलेखानी, फाखेल, हुमाने दक्षिणकालीको सडकमा सञ्चालन हुने सवारी साधनलाई तीन महिना कान्तिपथबाट सञ्चालन गरिने उनको भनाइ छ ।
भौतिक पूर्वाधारमन्त्री युवराज दुलालसँग मुख्यमन्त्री जमरकट्टेलले छलफल गरेपछि उक्त योजना बनाएका छन् । यस्तै, ६३ वर्ष अगाडि बनेको मकवानपुरगढी, ठिङगन, बागमती, भट्टेडाँडा, चापागाउँको सडकका अधिकांश स्थानमा कालोपत्र र ढलान भएको छ भने केही ठाउँमा अझै कच्ची छ ।
वर्षातको बेला पहिरोको जोखिम भए पनि हिउँद समयमा उक्त सडकमा सवारी सञ्चालन गर्न सकिन्छ ।