‘अन्तरपुस्ता ऐक्यबद्धता: सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौं राष्ट्रिय युवा सम्मेलन नौँ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ४० प्रतिशत भन्दा धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरु नयाँ आसा पलाएको बताए । यसैगरी अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युववर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा वातावरण विद श्याम कृष्ण श्रेष्ठले आफ्नो ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताए । टि. डि. एच. जर्मनीका नेपालका प्रतिनिधि मोनी श्रेष्ठले युवा सरोकारका विभिन्न पक्षमा सरकारी निकाय, सामाजिक संघसंस्था, युवाक्लव/संजाल तथा सबै सरोकारवालाहरु संगको हातेमालोबाट मात्र युवा अभियानले सफलता प्राप्त गर्न सक्ने बताए । कार्यक्रमको समापन समारोहमा इन्सेक नेपालका निर्देशक श्रीराम बजगाई, हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाही, आयोनका महासचिव खिमानन्द देवकोटा, सिविस नेपालका प्रतिनिधि लगायतले युवा अधिकार र अभियानका विषयमा आफ्नो भनाई राखेका थिए ।
दुईदिनसम्म काठमाडौंमा सम्पन्न सम्मेलनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए । दिगो विकासका लागी राष्ट्रिय युवा संजाल, नेपालको आयोजना , राष्ट्रिय युवा परिषद्, नेपाल पर्यटन बोर्ड र गैर सरकारी संस्था महासंघ संगको समन्वय तथा टि.डि. एच. जर्मनी, ए. आई. एन . स्ट्रोम फाउन्डेसन, गुड सेफर्ड, हुरेन्डेक नेपाल, ग्रामिण विकास संस्था काभ्रे लगायत २० भन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु संगको समन्वयमा भएको कार्यक्रममा देशैभरिबाट १०० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो ।
दुईदिने राष्ट्रिय युवा सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गर्ने, आगामी संसदीय चुनावमा पचास प्रतिशत युवा उम्मेदवारी कायम गर्न राजनितिक दल, संसद तथा सरकारसंग पहल गर्ने, सीप प्रबर्द्धन र उद्धमशिलता मैत्री नीति र संरचना स्थानीय तहसम्म बिस्तार गर्न माग गर्ने लगायत ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा परिषद्लाई हस्तान्तरण समेत गरेको छ ।
साथै आगामी दिनहरुमा दिगो बिकास र युवाको क्षेत्रमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संघ सस्था सहकार्य गर्दै अगाडि बड्ने र निकट भविस्यमै दक्षिण एसियायी युवा सम्मेलनको तयारीमा सस्था लागेको महासचिव सन्जिप न्यौपानेले जानकारी दिए । दुई दिने सम्मेलनको अध्क्षता सन्जालका केन्द्रिय अध्यक्ष अमृत देवकोटाले गरेका थिए ।