सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देशकै ठुलो सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम सुरु भएको छ।
सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ। भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु पर्ने बाध्यता छ।
कोसी गाउँपालिका–८ स्थित सुनसरी र सप्तरी सीमामा अवस्थित कोसी ब्यारेजमा पानीमा मापन गरिन्छ। बुधबार पानीको बहाव बढेर १९ वटा ढोका खोलिएको सुनसरी जिल्ला प्रशासनले जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार पछिल्लो मापन हेर्दा सप्तकोसीमा पनि पानीको बहाव हिजोभन्दा बढेको छ।
हिजो साँझसम्ममा प्रतिघण्टा १ लाख २५ हजार क्युसेक पानी नाम गरिएको थियो। अहिले बिहान ८ मापनअनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ पुगेको छ।
‘बिहान ८ बजेको मापनअनुसार सप्तकोसीको बहाव नर्मल नै छ,’ माझीले भने, ‘अलर्ट भएर बसेका छौँ।अहिले कोसी ब्यारेजको ५२ वटा ढोकामध्ये १९ वटा ढोका खोलिएको छ।’
नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको माझीले जनाए।
पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। पानीको बहाव उच्च हुँदासमेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने गरेका छन्।