विराटनगर महानगरपालिका–१२ का ५२ वर्षीय मनोज शर्माले आफ्नो एक फिट लामो टुप्पी काटिदिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
आफूले ४० वर्षदेखि पाल्दै आएको टुप्पी काटिदिएको भन्दै शर्माले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर उजुरी दर्ता गराएका हुन्।
शर्माले आफ्नो कम्मरसम्मको लामो टुप्पी कटहरी गाउँपालिका–४ का फिरोज मियाँले काटिदिएको भन्दै उजुरी दर्ता गराएका हुन्। शर्मा पनि कटहरीका बासिन्दा हुन्।
उनी डेरामा विराटनगर बस्छन्। आफ्नो बारीमा रहेको पानी तान्ने पम्प मियाँले चोरी गर्दै गरेको देखेपछि शर्माले प्रहरीमा उजुरी गरेका थिए। मियाँले भने सो उजुरी फिर्ता गर्न दबाब दिएका थिए।
तर, शर्माले नमानेपछि वैशाख १३ गते राति कटहरीस्थित आफ्नै घरमा बसेका शर्मालाई मियाँले टुप्पी तानेर कैचीले जबरजस्ती काटिदिएका हुन्।
घटनापछि काटिएको टुप्पी हातमा बाकेर प्रहरीमा उजुरी गर्न पुगेका शर्माले प्रहरीले उजुरी लिए पनि मियाँलाई पक्राउ गर्न नसकेको बताएका छन्।
प्रहरीले भने टुप्पी काटेको घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।