काठमाडौँ उपत्यकालाई जात्रै जात्राको सहर पनि भनिन्छ । यहाँ हरेक टोल र गाउँमा जात्रा मनाउने गरिन्छ । किरात देखि लिच्छवि काल र मल्ल शासन हुँदै शाह बंस सम्म उपत्यकामा धेरै जात्रा प्रचलनमा आयो र यद्यपि चलिरहेको छ ।
यस्तैमा काठमाडौँको काठ क्षेत्रमा रहेको तत्कालीन गोकर्ण गाउँमा चल्ने जात्राको आफ्नै अस्तित्व र महत्त्व छ । काठ क्षेत्रको पुरानो नेवार बस्ती गोकर्ण (हालको गोकर्णेश्वर) मा हरेक वर्ष आमाको मुख हेर्ने दिन मनाइने जात्राको आफ्नै मौलिकता र धार्मिक इतिहास छ ।
लिच्छवि राजा अंशुवर्माको दरबार रहेको मानिने गोकर्ण को पुरानो बस्ती देशे मा रहेको भगवान् भैरवको कथा सँग जोडिन्छ यो जात्रा ।
डुकुलाछी स्थित भगवान् भैरवको आमा अर्थात् उत्तर बाहिनीमा रहेकी कान्ति भैरवी को मन्दिरमा छोरा भैरव, आमाको मुख हेर्न सगुन सहित खानेकुरा लिएर जाँदा देखि सुरु हुने जात्रा अक्षय तृतीय को दिन समाप्त हुन्छ ।
अगाडि सगुन, भाते द्व (भातको भगवान्) र बाजागाजा सहित भगवान् भैरव, आफ्नी आमाको मुख हेर्न जाने परम्परालाई परापूर्व काल देखी यो जात्राले समेट्दै आएको छ ।
यसरी आमाको मुख हेर्न आएका भैरवलाई गाउँको सबै टोल घुमाइ साँझ आफ्नै मन्दिर भएको स्थानमा लगिन्छ र त्यो दिनको जात्रा सकिन्छ ।
यसै गरी निरन्तर ५ दिन सम्म भैरवको खट गाउँ टोल घुमाएस् अक्षत तृतीय को दिन भैरवलाई आफ्नै मन्दिरमा राखे पछि जात्रा बिधिवत रूपमा समापन हुन्छ ।