सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसावमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गरे ।
बैंकले आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने समेत बताए ।
एघार वर्ष अघि स्थापित बैंकको चुक्ता पूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको बैंकका अध्यक्ष श्रेष्ठले बताए ।
उक्त समारोहमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले शुभकामना मन्तव्य राख्दै संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गर्ने सबैलाई धन्यवाद दिए ।
उनले आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई उपकरण खरिद गर्न रु चार लाख र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरमा विद्यार्थीहरुका लागि खानेपानी पाइप खरिदका निम्ति रु. एक लाख सहयोग गरेको छ ।
साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई रु. ५० हजार नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीलाई गरिव तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न रु एक लाख सहयोग प्रदान गरेको छ ।
एघारौं वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, संचेतना अभिवृद्धि, स्वास्थ्य, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइ, लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।