संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन् ।
कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने दावी गरे । “विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ” ।
उनले थपे, “चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ । त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ ।” मन्त्री आलेले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताए ।
मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि रु एक अर्ब बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताए ।
धनगढी विमानस्थल र भारतको नयाँ दिल्ली हुँदै, नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवरसम्मको फास्ट ट्र्याक निर्माणका लागि विश्व बैंकसँग समन्वय भइरहेको र त्यसका लागि रु ६५ अर्ब बजेट माग गरिएको उनले जानकारी दिए ।