शनिबार सार्वजनिक भएको ‘सारेगमप लिटल च्याम्प’को कार्यक्रममा शीर्ष पाँचमा पुगेका एक प्रतियोगीले राजेश हमाललाई प्रश्न सोधे । उनले हल्का डराएको स्वरमा भने, ‘जुनियर राजेश हमाल कहिले आउनु हुन्छ ?’
राजेश हमालले सञ्चालन गर्ने ‘को बन्छ करोडपति’ कै शैलीमा उनले अप्सनहरू पनि दिए । उनले दिएका अप्सनहरू पनि युट्युब तथा टिकटकमा भाइरल भएका शब्दहरू थिए ।
क) प्लानिङ हुँदै छ ।
ख) ढिला आउनुहुन्छ, कडा आउनुहुन्छ ।
ग) एकाउन्न बाउन्न, म बच्चा पाउन्नँ ।
घ) सारेगमपको दोस्रो सिजन आएपछि….
त्यसपछि राजेश हमाल जुरुक्क उठेर स्टेजमा जान्छन् र उक्त कुरा टार्न भरपुर प्रयास गर्छन् । केही सिप नलागेपछि उक्त प्रतियोगीलाई नै ‘तिमी नै हौ नि, जुनियर राजेश हमाल’ भनेर कुरा टार्छन् ।
पर्दामा लामो अनुभव सङ्गालेका राजेश हमाल नेपालका ‘महानायक’को नाममा परिचित छन् । तथापि, महानायको उपाधि पछिल्लो समय आफैँमा विवादिछ छ । रै पनि उनलाई महानायक भनेर चिन्ने अनि माया गर्नेको सङ्ख्या धेरै नै छ ।
एक समय थियो, राजेश ‘बिहे कहिले’ भन्ने प्रश्नले हैरान हुने गरेका थिए । अहिले उनीमाथि अर्को प्रश्नको नजर लागेको छ । अब उनले ‘बच्चा कहिले’ भन्ने प्रश्नको सामना गर्नु परिरहेको छ ।
हुन त, राजेश हमालको शुभचिन्तकहरूले उक्त प्रश्न सोध्नु कुनै ठुलो कुरा होइन । तर कतिपय अवस्थामा उनी उत्तर दिन हडबडाएको देख्न सकिन्छ । उमेरले अर्धशतक हानेपछि १० जेठ २०७१ मा मधु भट्टराईसँग लगनगाँठो कसेका हमालले बच्चा किन जन्माएनन् भनेर सर्वत्र चासो छ ।
पत्रकारहरूले हमाललाई देख्नेबित्तिकै क्यामेरासँगसँगै प्रश्न तेर्स्याउँछन्, ‘राजेश दाइ अब बच्चा कहिले ? ढिलो भएन र ?’ प्रश्नले घेरिएका उनी अनुत्तरित हुन्छन् । राजेश हमाल त पब्लिक फिगर भएकोले उनको बारेमा चासो गर्नु स्वाभाविक नै होला ? तर भर्खर विवाह बन्धनमा बाँधिएकाहरूलाई परिवारले दिने आशीर्वाद नै, ‘ल है चाँडै नाति खेलाउन पाइयोस्,’ ‘नाति खेलाएर नै मर्ने मन छ’ लगायत हुन्छन् ।
हुन त घरमा नयाँ सदस्यको आगमनसँगै खुसीयाली नै थपिन्छ । नयाँ दम्पतिले मातृत्व तथा पितृत्वको सुख लिन पाउँछन् । घरपरिवारमा पनि नयाँ सदस्यको आगमनले खुसीयाली छाउँछ ।
गर्भधारण गर्ने व्यक्तिगत निर्णय हो र हरेक महिलालाई बच्चा जन्माउने वा नजन्माउने तथा कहिले जन्माउने भन्ने निर्णय गर्ने अधिकार रहनु पर्छ । तर विश्वभरि नै महिलालाई पतिबाट, परिवारबाट तथा समाजबाट बच्चा जन्माउन दबाब दिइन्छ । अहिलेको जमानामा त पति–पत्नी मिलेर नै बच्चा कहिले र कति जन्माउने भनेर निर्णय गर्छन् । तर हामीलाई भने उनीहरूले बच्चा किन पाएनन् भनेर जान्न हतार हुन्छ । उनीहरूले आफ्नो तबरले प्लान गरेको भएता पनि बच्चा नजन्माएको भन्दै विभिन्न लाञ्छनाहरू लगाएर हतोत्साहित गर्ने गरिन्छ ।
यो लेख लेख्ने पङ्तिकारको साथिले आफ्नो आफन्तको पीडा यसरी सुनाइन्, “रमिला (परिवर्तित नाम) को विवाह भएको चार वर्षसम्म बच्चा भएन । हुन त, उनको पति प्रहरीमा जागिरे थिए । उनी कहिले श्रीमानसँग त कहिले माइतमा नै बस्ने गर्थिन् । पतिको सरुवा भइरहने हुनाले उनीहरूले केही समय बच्चा नजन्माउने निर्णय गरेका थिए ।
उनीसँग हिँड्दा मानिसले प्रश्न तेर्साँउथे, ‘नानी तिम्राचाहिँ छोराछोरी कति जना ? तिमीचाहिँ कहिले आमा बन्ने ? केटाकेटी हुँदै नभएका कि भएर पनि…? यस्ता प्रश्नहरूले उनी आजित हुने गर्थिन् ।
तर तिनले त्यस्ता मुटु नै छेड्ने काँडाजस्ता प्रश्नहरू हाँसेर टारिदिन्थिन् र घरमा आएर रुन्थिन् । उनले खै कसरी त्यस्ता प्रश्नहरू चुपचाप सहन्थिन् ? अझ कसरी हाँसेर टारिदिन्थिन् ? उनको त्यो अवस्था देखेर मलाई माया लागेर आउथ्यो । तर समाजको डरले उनको पक्षमा बोल्न सक्दिनथेँ । उनको आँशु हेरेर मन अमिलो बनाएर बस्न बाध्य हुन्थेँ ।”
स्त्रीरोग विशेषज्ञहरू लामो समयपछि सन्तान जन्माउन खोज्दा केही समस्याहरू देखिने बताउँछन् । विवाह गरेको लामो समयपछि डिम्व र शुक्रकिटको मिलन हुन समस्या हुने, सन्तान नबस्ने जस्ता समस्या लिएर धेरै दम्पत्तीहरू अस्पताल पुग्ने गरेका छन् । हाम्रो समाजमा विवाहपछि समयमै सन्तान जमाउँदा छिट्टै हुर्किन्छन् भन्ने मान्यता पनि वैज्ञानिक रूपमा ठिक भएको चिकित्सकहरूको भनाई छ ।
पछिल्लो समयमा शहरबजारमा बसेका दम्पती दुवै जागिरे हुन्छन्, बढ्दो मङ्गगीले गर्दा एकजनाको कमाईले परिवार पाल्न गाह्रो हुन्छ । विवाह गरेर आएका महिलाहरू जागिर अथवा व्यवसायमा लाग्ने र आर्थिक रुपमा सम्पन्न भएपछि मात्रै सन्तान जन्माउन चाहना राख्छन् ।
नेपाली समाजमा अझै पनि साँघुरो दृष्टिकोण छ । विवाह भएको केही वर्षमा सन्तान भएन भने नारीमाथि अनेकन लाञ्छना लगाउने गरिन्छ ।
अहिले टिकटकमा एउटा भिडिओ खुब चर्चामा आएको छ । टिकटकमा थापा थर गरेकी एक प्रयोगकर्ताले आफूले ४२ वर्षको उमेरमा बच्चा जन्माउन लागेको भन्दै एक भिडिओ बनाएर सेयर गरेकी छिन् । उक्त भिडिओमा विभिन्न नकरात्मक टिप्पणीहरू आएका छन् । ती नकरात्मक टिप्पणीहरूलाई उनले विनम्रतापूर्वक जवाफ फर्काउने गरेकी छन् । उनले १७ वर्षको कलिलो उमेरमा विवाह गरिन् र १८ वर्षमा नै पहिलो सन्तान जन्माइन् । त्यसपछि उनी आफ्नो पढाइमा फोकस गर्न थालिन् । पति र उनले एउटै सन्तानमा चित्त बुझाए र उनकै पढाइ–लेखाइ तथा आफ्नो क्यारियरमा फोकस गरे ।
अहिले पहिलो सन्तान २४ वर्षको भएपछि उनीहरूले प्लान नगरी बच्चा बस्यो र उनले दोस्रो सन्तानलाई जन्म दिने निर्णय गरिन् र गर्भावस्थाको मज्जा लिइरहेको छन् । उनको भिडियोमा आएका नकरात्मक टिप्पणीहहरू हेर्दा लाग्छ उनले ठुलो अपराध गरेकी छन् । हरेकको चियोचासो गर्ने समाज नै सामाजिक सञ्जाल बनेको छ ।
बच्चा जन्माउने कुरा पारिवारिक जीवनको एउटा मुख्य आधारस्तम्भ हो, जसमा धेरै रूपान्तरणहरू भइरहेका छन् । विश्वभरि, जन्मदरमा ह्रास आइरहेको भएपनि क्षेत्रगत परिवर्तनको गतिमा भिन्नता रहेको पाइन्छ । यो परिवर्तनले महिलाहरूले छोराछोरी पाउने वा नपाउने र कहिले पाउने, र कति जना पाउने भन्नेकुराको निर्णयमा बढी सहभागी भइरहेकोतर्फ सङ्केत गर्छ ।
व्यवहारिक रूपमा सानो परिवारको सञ्चालन कम खर्चिलो हुन्छ र त्यहाँ महिलाहरूको हेरचाहजन्य र घरायसी कामको बोझ पनि कम हुनसक्छ । विवाह भएको यतिका वर्ष भइसक्यो किन बच्चा नपाएको ? आफ्नो इच्छाले बच्चा जन्माउन ढिलो गर्दा महिलाहरूले कयौँ प्रश्नहरू खेप्नुपर्छ जस्तैः किन बच्चा नजन्माएको ? कि नभाको हो ? फलानाले पोहोर साल बिहे गरेकी कति राम्रो यसैपाला छोरो पाई, सुरसार गर्ने होइन अब ? हाम्रो समाज आफ्नोभन्दा अरूको कुरामा अलिक बढी नै चासो राख्छ ।
विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ, घरमा बच्चाको हाँसो गुन्जियोस् । तर, केही दम्पति एकअर्कालाई बुझ्न, पढ्न र आर्थिक रूपमा सक्षम हुन केही समय दिन चाहन्छन् । कतिपयको रहर नभएर बाध्यता पनि हुने गर्दछ ।
सन्तान प्राप्तिको कुरा त्यस्तो सहज र समाजले गर्ने आशाजस्तो मात्र होइन । चाहँदाचाहँदै पनि सन्तान भएन भने के गर्ने त ? एउटी महिलालाई घोचिरहने ? उसको पटकपटक बेइज्जती र अपमान गर्ने, गरिरहने ? महिलाकै कारण बच्चा नभएको हो भने पनि उसलाई बाँच्न पाउने अधिकारै हुँदैन त ? उसको ब्यक्तिगत जीवन नै हुँदैन त ? यो विषयमा किन कसैले बुझ्दैन । वा बुझ पचाउँछ ।
आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेला गर्ने चलन छ । झन्डै १५ प्रतिशत विवाहित दम्पतिले सन्तान सुखबाट बञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरूका लागि कालकोठरीजस्तै बन्न पुगेको छ । निःसन्तानका हातको पानी चल्दैन वा पितृहरू विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा पनि हाम्रो समाजमा छ । यस्तो गर्नु राम्रो होइन ।
धादिङकी एक महिलाको केही गर्दा पनि बच्चा भएन । गाउँमा एक जना आफन्तको विवाह थियो, ती महिलाकी आफ्नै सानिमाले ‘तँ बाँझी, तैँले जग्गेमा आएर छोए अशुभ हुन्छ’ भन्दै कपाल समातेर हटाइन् । विवाहको त्यो माहोलमा सिङ्गारिएर गएकी उनमाथि सार्वजनिक बेइज्जती र अपहेलना भयो । उनी विवाह छोडेर आत्महत्या गर्न गइन् तर आफन्तले उनलाई बचाए ।
बाँझोपनका कारण निसन्तान बनेपछि दम्पतिले सामाजिक आक्षेप खेप्छन् । पुरुषको तुलनामा महिला बढी तिरस्कृत हुन्छन् । पतिको दैनिक दुर्व्यवहार, धाकधम्कीमात्रै नभएर परिवार र आफन्तको कूदृष्टि सहनुपर्छ । उनीहरू खुलेर प्रतिकार गर्न सक्दैनन् । जसले गर्दा चुनौती सामना गर्न बाध्य छन् ।
हुनेखानेले लाखौँको खर्च गरेर पनि सफल हुन नसक्दा महिला हिंसाको सिकार बन्छन् । निम्न परिवारका महिला झनै पीडित हुन्छन् । बहुविवाह, घरेलु हिंसा, अवहेलना दिनचर्या हुन्छन् । पतिका कारणले बच्चा नहुँदा पनि पत्नीले नै दुर्व्यवहार खप्नुपर्ने तितो यथार्थ समाजमा छ ।
‘बाँझी महिला, बाँझी आइमाई’ भन्ने हाम्रो समाजमा ‘बाँझो पुरुष’ भनेको सुनिँदैन । सन्तान नहुनुमा पुरुषको पनि समस्या हुनेबारे हाम्रो समाज अनभिज्ञ छ भने कतिले ‘मर्दपनको ढोँग’ बोकेर यस्तो कुरा बुझ्न पनि चाहँदैनन् ।
अतः बाँझोपनबारे अझै पनि समाज भ्रममा नै बाँचेको छ । यसबारे सरकारले नै कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाउनु आवश्यक छ । बाँझोपन पुरुष र महिला दुवै वा कुनै एक जनामा भएको स्वास्थ्य समस्याका कारण हुने भएकोले दम्पति दुवैले स्वास्थ्य परीक्षण गराउनु पर्छ र समाजले पनि अनावश्यक कुराहरू गरेर मानसिक तनाव दिने कार्य गर्नु हुँदैन ।