काठमाडौं । केहि दिन अघि निधन भइसकेका एक ब्यक्तिमा कोरोना पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा निधन भएर अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।
उपचारका क्रममा उनको जेठ ४ गते निधन भएको हो । उनी बाराका ७० वर्षीय वृद्ध हुन् । निधन भइसकेपछि गरिएको स्वाव परिक्षणको रिपोर्ट उनको अन्त्यष्टि पछि आएको हो । नेशनल मेडिकल कलेजमा पहिलो पटक गरिएको पिसिआर परिक्षणमा उनको रिपोर्ट शंकास्पद देखिएपछि पुन स्वाव काठमाडौं पठाइएको थियो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले निधन भएका वृद्धमा कोरोना भएको रिपोर्ट आएको पुष्टि गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले भने यसवारेमा अहिले सम्म कुनै जानकारी गराएको छैन । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
त्यस्तै भर्खरै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ७५ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।